
नेपालगंज — दाङको तुलसीपुरबाट एक युवकको नगद रकम लुटेर भागेका चार जना आरोपितलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ का २३ वर्षीय कुमार केसी, सोही वडाका २१ वर्षीय नन्दे भनिने शिरिस परियार, तुलसीपुर–४ का १५ वर्षीय एक किशोर, र तुलसीपुर–३ का १५ वर्षीय अर्का किशोर रहेका छन्। बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरले उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिएको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार पक्राउ परेका चार जनाको साथबाट लागुऔषध पनि बरामद गरिएको छ।
यी चार जनामाथि जेठ २९ गते राति साढे १० बजे तुलसीपुर–७ का २७ वर्षीय राजु चौधरीलाई लुटपाट गरेको आरोप लागेको छ। तुलसीपुर–९, बेलुवा नजिक उनीहरूले चौधरीलाई रोकेर फोन गर्नु छ भन्दै नम्बर मागेका थिए। चौधरीले दिएको जाहेरी अनुसार त्यसपछि अरु व्यक्तिहरू पनि त्यहाँ आइ चौधरीलाई समातेर साथमा रहेको नगद ३९ हजार रुपैयाँ लुटेर भागेका हुन्। चौधरीले उक्त रकम बिमाको लागि साँचेर राखेको उल्लेख जाहेरीमा गरिएको छ।
त्यसैगरी, लुटपाटका क्रममा उनीहरूले चौधरीको लाइसेन्स, ब्लुबुक तथा परिचयपत्र पनि खोसेर लगेका छन्।



