काठमाडौं — काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन सञ्चालन गरिरहेका तीन जना ट्रक चालकलाई ट्राफिक प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–७ का ३४ वर्षीय सन्तोष तामाङ (प्रदेश ३–०१००६ ख ४५८५ नम्बरको ट्रक चालक), मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ का २९ वर्षीय अरविन्द दमाई (ना ५ ख ७४११ नम्बर ट्रक चालक), र हेटौंडा उपमहानगरपालिका–१७ का ३४ वर्षीय गोकर्ण अर्याल (मधेस प्रदेश ०३–००१ ख ९६३६ नम्बर ट्रक चालक) रहेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा चेकजाँचका क्रममा उनीहरूलाई लागूपदार्थ सेवन गरेको अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ।

सवारी साधनका चालकले लागूपदार्थ वा मादक पदार्थ सेवन गरेर सवारी चलाउनु कानुनविपरीत र दण्डनीय अपराध भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर