
पोखरा —मोरङबाट प्रेमीलाई बोलाई पोखराका एक सुनचाँदी व्यवसायीलाई हनी ट्र्यापमा पार्दै रकम असुल्न खोज्ने योजनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना ती व्यवसायीको पसलमै काम गर्ने युवती रहेको खुलेको छ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्गा निवासी २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोकका ३८ वर्षीय देव लिम्बु र संखुवासभा सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी हरि बस्नेतका अनुसार पक्राउ परेकाहरूमाथि कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर “आपराधिक लाभ” सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानबाट खुलेको विवरण अनुसार मरियम राई पोखराकै एक सुनचाँदी पसलमा काम गर्थिन्। उनले आफैं काम गर्ने पसलका सञ्चालकलाई हनी ट्र्यापमा फसाएर रकम असुल्ने योजनाअनुसार प्रेमी देव लिम्बु र टेकबहादुर सुवेदीलाई पोखरा बोलाएकी थिइन्।
ती दुई युवकले पसल सञ्चालककी श्रीमतीलाई भेटी ‘तपाईंका श्रीमान्ले मरियमलाई बलात्कार गरेका छन्’ भन्दै जिउधनलाई असर पुग्ने किसिमका धम्की दिँदै ठूलो रकम मागेको प्रहरीको भनाइ छ। उनीहरूले जीन्दगीभर पुग्ने सम्पत्ति नदिए कानुनी झमेलामा पार्ने धम्कीसमेत दिएका थिए।
प्रहरीका अनुसार घटनाको सम्बन्धमा एक धम्कीपूर्ण अडियो पनि फेला परेको छ। सोही आधारमा सूचना संकलन गर्दै गएको कास्की प्रहरी टोलीले हनी ट्र्यापमार्फत रकम असुल्न खोज्ने गिरोहलाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



