काठमाडौं — प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्दै मुद्दा मिलाइदिने नाममा छ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये एक जनाको विगतमा आपराधिक संलग्नता रहेको खुलेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली–८ का ४५ वर्षीय ज्ञानबहादुर लामा (उर्फ ज्ञानु तामाङ) र सुनसरीको इटहरी उपमहानगरपालिका–४ पाँचघरे घर भई हाल काठमाडौंको कलंकीमा बसोबास गर्दै आएका ४२ वर्षीय रेवती ओझा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार, “डिएसपी हुँ भन्दै प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिन्छु” भन्ने प्रलोभनमा पारेर पीडितसँग छ लाख रुपैयाँ ठगी गरिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

अनुसन्धानको क्रममा ज्ञानबहादुर लामाको आपराधिक इतिहास पनि खुलेको छ। उनले वि.सं. २०७० फागुन २० गते हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्षको जेल सजाय भुक्तान गरिसकेको र वि.सं. २०६७ कात्तिक ४ गते जुवा सम्बन्धी तथा सार्वजनिक अपराधमा समेत मुद्दा चलाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

हाल दुबैजनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता बोहराले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय