
धनगढी, कैलाली — धनगढी उपमहानगरपालिका-२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय नजिकै ३८० मिलिग्राम खैरो हेरोइनसहित एक प्रहरी जवान पक्राउ परेका छन्। लागुऔषध ब्यूरो शाखा धनगढी र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्ति सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत २७ वर्षीय प्रहरी जवान चिरञ्जीवी बिसी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, बिसीलाई सोमबार दिउँसो लागुऔषधसहित नियन्त्रणमा लिइएको हो। उनका अनुसार बिसीको स्थायी ठेगाना गोदावरी नगरपालिका–९ हो।

यसअघि पनि धनगढीकै त्रिनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानलाई लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको थियो। तर, उनको साथबाट कुनै लागुऔषध फेला नपरेपछि उनीमाथि मुद्दा अगाडि बढाइएको छैन।



