
काठमाडौं । महँगा भाँडावर्तन र तामाका तारहरु चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पोखराबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन भारतीय र एक नेपाली नागरिक रहेका छन्।
पक्राउ पर्नेहरूमा भारत बिहारका २२ वर्षीय मनोज कुमार सिंह, २७ वर्षीय करन कुमार शाह, ४२ वर्षीय मुकेश कुमार र धादिङको खनियाबास गाउँपालिका–२ का ३१ वर्षीय श्यामकुमार तामाङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरूले विभिन्न स्थानहरूबाट पटक–पटक भाँडावर्तन र तामाका तार चोरी गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
८ जेठ २०८२ मा पोखराको छिनडाँडास्थित नेपाल टेलिकमको कपर केवल तथा अन्य घरेलु सामग्री चोरी भएको घटनाबारे टेलिकमले प्रहरीमा उजुरी दिएको थियो। अनुसन्धानको क्रममा चोरी गरिएका सामग्रीहरू कवाडी पसलमा बिक्री भएको पत्ता लागेपछि २३ जेठमा प्रहरीले मनोज कुमार सिंहले सञ्चालन गरेको कवाडी खानीमा छापा मारेको थियो।



