काठमाण्डौं—मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट अवैध भरुवा बन्दुकसहित दुईजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय केराबारीका अनुसार स्थानीय धनबहादुर श्रेष्ठको घरभित्रबाट उक्त बन्दुक फेला परेको हो।

विशेष सूचनाको आधारमा बिहीबार राति करीब १०:३० बजे प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) मानबहादुर जिम्बाको नेतृत्वमा गएको टोलीले श्रेष्ठको घरमा छापा मारेको थियो। खानतलासीको क्रममा घरको पश्चिमपट्टि रहेको कोठामा तन्नाले छोपेर लुकाइराखिएको अवस्थामा एक नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

बन्दुक फेला परेसँगै श्रेष्ठका २६ वर्षीय छोरा गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। दुवैजनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान भइरहेको छ।

प्रहरीले बरामद गरिएको भरुवा बन्दुक वन्यजन्तुको अवैध चोरी–सिकारीमा प्रयोग गरिएको हुनसक्ने आशंका गरेको छ। पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना ऐनअन्तर्गत मुद्दा दर्ता गरिने तयारी प्रहरीले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय