
काठमाडौँ । वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–३ की ४० वर्षीया प्रमिला बरुवाल र पाल्पा माथागडी गाउँपालिका–४ का ३४ वर्षीय मोहन पोखरेल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बरुवाललाई दक्षिणकाली नगरपालिका–१ बसोबास गर्दै आएकी अवस्थाबाट नागार्जुन नगरपालिका–३ हलचोकमा पक्राउ गरिएको हो भने पोखरेललाई काठमाडौं–२६ बाट पक्राउ गरिएको हो ।

प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार बरुवालले युके पठाइदिने बहानामा ७ जनाबाट ३२ लाख ३५ हजार रुपैयाँ ठगी गरेकी छन् भने पोखरेलले पोल्यान्ड पठाइदिन्छु भन्दै एक व्यक्तिबाट १० लाख रुपैयाँ ठगी गरेका छन् ।
रकम संकलन गरी फरार रहेका उनीहरूविरुद्ध पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए । खोजी क्रममा बुधबार उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले दुबै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि बिहीबार वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ ।



