काठमाडौं — अमेरिकी डलर सस्तो दरमा उपलब्ध गराइदिने प्रलोभन देखाएर नेपाली ३० लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–३ दुवाकोट बस्ने, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङ रहेका छन्।

उनले नवलपरासी पूर्वको गैडाकोट नगरपालिका–३ ढोडेनीमा विभिन्न व्यक्तिहरूलाई फोनमार्फत सम्पर्क गरी सस्तो दरमा डलर उपलब्ध गराइदिने भन्दै प्रलोभन देखाएका थिए। त्यसक्रममा पीडितहरूलाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिँदै उनीहरूसँग ठूलो रकम असुलेका थिए।

तामाङले यही शैलीमा एक पीडितसँग नेपाली ३० लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय