
सिरहा—सिरहा प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोदकुमार यादव रहेका छन्। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार, सिरहा नगरपालिका–१६, माडरका विवेक यादव सवारी ज्यान मुद्दामा हिरासतमा रहँदा प्रमोदले उनलाई छुटाइदिने तथा मुद्दा मिलाइदिने भन्दै रकम लिएका थिए। विवेककी आमा रानीदेवी यादवले २०७८ असार २७ गते प्रमोदले आफूबाट १ लाख ७० हजार रुपैयाँ लिएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

जाहेरीका आधारमा उनलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट ४ दिनको म्याद लिई विस्तृत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।



