
काठमाडौँ । रुपन्देहीको बुटवलमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ एक पुरुषले आफ्नी पूर्वपत्नी र दुई साना छोरीको क्रूरतापूर्वक हत्या गरेका छन्। प्रहरीका अनुसार, बुधबार बिहान साढे ४ बजे बुटवल उपमहानगरपालिका–११ स्थित मैत्रीपथमा ३३ वर्षीया दीपा बस्याल र उनका दुई छोरी—७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी—को हत्या गरिएको हो।
रुपन्देहीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रदीपबहादुर क्षेत्रीका अनुसार, दीपाका पूर्वपति सुजन कोइरालाले चक्कु र हम्मर प्रयोग गरी त्रासदी निम्त्याएका हुन्। कोइरालाले मंगलबार साँझ पूर्वपत्नी र छोरीहरूलाई आफैं बसोबास गर्दै आएको घरमा बोलाएका थिए। तर त्यो पारिवारिक भेट अन्ततः ज्यान लिने नृशंस घटनामा परिणत भयो।

“किन गएकी थिइन् भन्नेबारे हाल अनुसन्धान भइरहेको छ,” एसपी क्षेत्रीले बताए, “घटनास्थलमा विस्तृत अनुसन्धान भइरहेको छ भने शवको पोस्टमार्टमका लागि तयारी थालिएको छ।”
प्रहरीलाई बिहान ७ बजे घटना बारे जानकारी प्राप्त भएपछि कोइरालालाई तत्काल नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, उनले योजनाबद्ध ढंगले हत्या गरेको आशंका गरिएको छ।
स्वास्थ्यकर्मीको रूपमा कार्यरत दीपा बस्याल पाल्पाको तानसेन नगरपालिका–७ स्थित कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। केही वर्षअघि उनले सुजन कोइरालासँग सम्बन्ध विच्छेद गरेकी थिइन् र त्यसपछि नवलपरासीका अर्का व्यक्तिसँग पुनः विवाह गरेकी थिइन्।



