
काठमाडौं । वैदेशिक रोजगारीको नाममा भारत हुँदै महिला बेचबिखन गर्न खोजेको आरोपमा पक्राउ परेका रसुवाका उर्पा लोप्चन कारागार चलान भएका छन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका–६ निवासी ४२ वर्षीय उर्पा तामाङ भनिने उर्पा लोप्चनलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा पठाइएको हो।

उर्पा र अर्का व्यक्ति कुमार तामाङले एक महिलालाई इराकमा मासिक ४५ हजार रुपैयाँ तलबमा घरेलु कामदारका रूपमा पठाइदिने प्रलोभन देखाएर भारततर्फ लैजाने क्रममा बेचबिखन गर्न खोजेको आरोप लागेको छ। उनीहरूले उक्त महिलालाई काठमाडौंमा स्वास्थ्य परीक्षण गराई, बालाजुस्थित एक होटलमा झण्डै २५ दिनसम्म राखेको अनुसन्धानमा खुलेको छ।
१८ जेठ २०८० मा ती महिलालाई झापाको काँकडभिट्टा नाकाबाट भारत लैजाँदै गर्दा साना हातहरू नामक संस्थाले उद्धार गरेको थियो। त्यसपछि पीडित महिलाले २१ जेठमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिएकी थिइन्।
उक्त उजुरीका आधारमा कुमार तामाङलाई प्रहरीले त्यसैबेला पक्राउ गरी पुर्पक्षका लागि कारागारमा राखेको छ। उर्पा भने फरार रहेका थिए। लामो समयपछि ८ जेठ २०८२ मा पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउँदा पुर्पक्षका लागि थुनामा राख्ने आदेश आएको ब्यूरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले जानकारी दिए।



