
अर्घाखाँची, २०८२ जेठ ५ – बिमा दावी गर्नका लागि झुटो विवरण पेश गर्दै नक्कली सवारी चालक खडा गर्ने एक टेम्पो धनीलाई प्रहरीले पक्राउ गरेको छ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. १ बड्डाँडास्थित सडकबाट मधेश प्रदेश ०३–००२ स ५७५१ नम्बरको टेम्पो करिब २०० मिटर तल खस्दा दुर्घटना भएको थियो। सो टेम्पो ऐनै गाउँपालिकाका ३९ वर्षीय टुकबहादुर शारुको नाममा दर्ता रहेको र घटनाको समयमा उनले नै चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनास्थलमा खटिएको प्रहरीलाई टेम्पो धनी शारुले टेम्पो चामबहादुर रास्कोटीले चलाएको जानकारी दिएका थिए। रास्कोटी पाणिनी गाउँपालिका वडा नं. २ पोखराथोकका स्थायी बासिन्दा हुन् र उनीसँग टेम्पो चलाउने सवारी चालक अनुमति पत्र रहेको छ। तर अनुसन्धानको क्रममा टेम्पो वास्तवमा टुकबहादुर शारुले नै चलाएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी प्रमुख डिएसपी चक्र मल्लले जानकारी दिनु भएको छ।
शारुसँग सवारी चालक अनुमति पत्र नभएकोले उनले बिमा दावी गर्नको लागि गलत विवरण पेश गर्दै अनुमति पत्र भएका रास्कोटीलाई झुटो चालकको रूपमा खडा गरेको पाइएको प्रहरीले जनाएको छ ।



