काठमाडौँ —त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा दैनिक करोडौँ रुपैयाँ घुससहितको मानव तस्करी सेटिङ हुँदै आएको खुलासा भएपछि, कार्यालय प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

अख्तियारले गरेको प्रारम्भिक अनुसन्धान अनुसार, अध्यागमन कार्यालयबाट प्रति दिन करिब १०० जना यात्रुलाई “सेटिङ” मा वैदेशिक गन्तव्यतर्फ पठाउने काम हुँदै आएको थियो। एक व्यक्तिबाट न्यूनतम २० हजार रुपैयाँ घुस लिने गरिन्थ्यो, जसअनुसार दैनिक झण्डै २० लाख रुपैयाँसम्मको घुस लेनदेन हुने गरेको तथ्य फेला परेको छ।

यही सूचनाको आधारमा अख्तियारको टोलीले बिहीबार (२०८२ जेठ ४ गते) छापा मार्दै भर्खरै गृह मन्त्रालय सरुवा भएका सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको हो। उनको मोबाइल फोन तथा अन्य कागजातहरू समेत जफत गरिएको छ। अख्तियारले थप प्रमाण संकलन गरी विस्तृत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

सूत्रहरूका अनुसार, सहसचिव भट्टराईले मानव तस्करीमा संलग्न गिरोहहरूसँग प्रत्यक्ष साँठगाँठ गरी उनीहरूलाई अध्यागमन प्रक्रियामा सहज पहुँच दिने गरेको विश्वास गरिन्छ। प्रारम्भिक प्रमाणहरूका आधारमा उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

अख्तियारका अनुसार, अध्यागमन कार्यालयमै आयोगको टोलीले छापा मारेर आवश्यक कागजातहरू संकलन गरिरहेको छ। यस घटनाले त्रिभुवन विमानस्थलको सुरक्षा, पारदर्शिता र सुशासनप्रतिको गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय