काठमाण्डौं—धनुषा प्रहरीले अनलाइन माध्यममार्फत साढे दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षीय नितेश कुमार साह, महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीर कुमार महतो, गौशाला–२ का १९ वर्षीय अमित साह, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्याम सुन्दर महरा र क्षीरेश्वरनाथ–१ का २० वर्षीय राम कुमार महरा रहेका छन्।

धनुषा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार ती युवाहरू कुलतमा फसेर अनलाइन ठगीमा संलग्न भएका हुन्। उनीहरूले इन्स्टाग्राम, टिकटक, फेसबुक, ह्वाट्सएपजस्ता सामाजिक सञ्जाल प्रयोग गरी मोबाइल फोन, लत्ताकपडा लगायतका सामग्रीहरू अत्यन्त सस्तोमा दिने प्रलोभन देखाई सर्वसाधारणबाट रकम असुली ठगी गर्ने कार्य गर्दै आएका थिए।

पक्राउ परेकाहरूको साथबाट विभिन्न बैंक तथा मोबाइल वालेटमा भएका १८७ वटा खाताको विवरण फेला परेको छ। ती खातामार्फत हालसम्म झण्डै २ करोड ६३ लाख ९३ हजार १ सय ९२ रुपैयाँ बराबरको कारोवार भएको देखिएको प्रहरीले जनाएको छ।

हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय