काठमाडौँ — “अपराध गरेपछि उम्कन सकिँदैन” भन्ने भनाइलाई चरितार्थ बनाउने ज्वलन्त उदाहरण बनेका छन् एक दम्पती, जहाँ श्रीमान् जेलमा छन् भने श्रीमती प्रहरी हिरासतमा।

डिल्लीबजार कारागारबाट १४ वर्षअघि फरार भएका कैदी पेशल राज बुढाथोकी (उर्फ राज बुढाथोकी) र उनकी श्रीमती सविता शाक्य दुवै जनालाई प्रहरीले हालै पक्राउ गरेको छ। ओखलढुंगाको लिखु गाउँपालिका–२ कुवापानी घर भई हाल काठमाडौँको गोंगबुमा बस्दै आएका ४५ वर्षीय बुढाथोकीलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, बुढाथोकी २०६६ फागुन २५ गते वैदेशिक रोजगार ठगी मुद्दामा दोषी ठहर भई तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना सजाय पाएका थिए। तर, ०६७ साउन २९ मा डिल्लीबजार कारागारबाट नाइकेको सुविधा दुरुपयोग गर्दै भागेका थिए। उनी कारागारमा नाइकेका रूपमा कार्यरत थिए।

यसैबीच, उनकी श्रीमती सविता शाक्य बैंकिङ कसुर मुद्दामा फरार रहेकी थिइन्। उनलाई आइतबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले डिल्लीबजारबाट पक्राउ गरेको हो। सविता गोरखा नगरपालिका–४ पोखरीथोककी स्थायी बासिन्दा तथा हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसीमा बस्दै आएकी हुन्।

प्रहरी अनुसन्धानका क्रममा खुलेको छ कि डिल्लीबजार कारागारबाट फरार श्रीमान् बुढाथोकीलाई “अब जेल बस्नुपर्दैन” भन्दै केही दलालले मिलाउने बहानामा तीन लाख रुपैयाँसम्म असुल गरेका थिए। ती दलाललाई रकम दिने काम सविता शाक्यले गरेकी थिइन्। तर, पछि प्रहरीले अनुसन्धान अगाडि बढाउँदा सविताले सहयोग नगरेपछि प्रक्रिया रोकिएको थियो।

अहिले श्रीमान् बुढाथोकी जेलमा छन् भने श्रीमती सविता प्रहरी हिरासतमा छन्, जसले देखाउँछ—अपराध जति लुकाए पनि अन्ततः कानूनको फन्दाबाट उम्कन सकिँदैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय