
सप्तरी, वैशाख १८ गते। जनता समाजवादी पार्टी (जसपा) की नेतृ बबीसिंह यादवले वैवाहिक समारोहमा पड्काएको पेस्तोल प्रहरीले बरामद गरेको छ। सप्तरीको एक घरमा आयोजित विवाह कार्यक्रमस्थलबाट उक्त पेस्तोल फेला पारी अनुसन्धानका लागि विज्ञान प्रयोगशाला पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
प्रहरीको प्रारम्भिक सोधपुछमा नेतृ यादवले सर्लाहीस्थित मामाघरमा वैवाहिक समारोहको अवसरमा खलौनाको रूपमा प्रयोग हुने, तर बारुद हालेर पड्काउने प्रकारको बन्दुक पड्काएको बताएकी छन्।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार वैशाख ११ गते हल्दी–मेहेन्दीको कार्यक्रममा पेस्तोल पड्काइएको थियो। यादवले पेस्तोल पड्काउँदै नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटना सार्वजनिक भएको हो।
मधेश क्षेत्रका वैवाहिक समारोहहरूमा बाजा, पटाका, आतसबाजी जस्ता गतिविधि सामान्य भए पनि, सक्कली वा पटाकासहितको खेलौना बन्दुक सार्वजनिक स्थानमा पड्काउन कानुनी रूपमा प्रतिबन्धित रहेको प्रहरीले जनाएको छ।



