
काठमाण्डौं — इलामको माई नगरपालिका–४, सिञ्जालीटारमा ज्वाईंले धारिलो हतियार प्रहार गरी जेठीसासूको हत्या गरेका छन्। ४२ वर्षीय शान्तिराम दुलालले त्यही स्थानकी ५२ वर्षीया भूमिका चापागाईंको हत्या गरेको इलाम प्रहरीले जनाएको छ।
साँझ करिब ७ बजे टाउकामा धारिलो हतियारले प्रहार गरिएको भूमिकाको राति १०:२० बजे उपचारका क्रममा मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा उनलाई माई नगरमा उपचार सम्भव नभएपछि झापाको बिएन्डसी अस्पताल लगिएको थियो, तर अस्पतालमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शान्तिराम र उनकी पत्नीबीच मानाचामल सम्बन्धी मुद्दा चलिरहेका बेला भूमिकासँग शान्तिरामको अदालत परिसरमा विवाद भएको स्थानीयहरूले बताएका छन्। त्यसपछिकै समयमा भूमिकाले शान्तिरामविरुद्ध अदालतमा अवहेलना मुद्दासमेत दायर गरेकी थिइन्।
प्रहरीले शान्तिरामलाई पक्राउ गरी घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।



