
सुरक्षा सरोकार, काठमाण्डौं — “म पार्टीको मान्छे हुँ, बुझ्नुहुन्छ!” भन्ने शैलीमा धम्क्याउँदै नेपाल र भारतका व्यापारीहरूलाई करोडौं रुपैयाँ ठगी गरेका बलराम ढकाललाई प्रहरीले ठगीसम्बन्धी कसुरमा पक्राउ गरेको छ। झण्डै दुई वर्षदेखि फरार रहेका ढकाललाई २०८२ वैशाख ८ गते सोमबार अपरान्ह नवलपरासीबाट पक्राउ गरिएको हो।
प्रहरी स्रोतका अनुसार ढकालले आफूलाई विभिन्न राजनीतिक दलको कार्यकर्ता भन्दै भारतबाट सामान ल्याउने व्यापारीहरूसँग करोडौंको कारोबार गरेका थिए। तर ती सामानहरूको भुक्तानी नगरी फरार भएका थिए। व्यापारीहरूले बारम्बार रकम माग्दा उनले उल्टै धम्की दिने गरेको खुलेको छ।

२०७९ सालदेखि ढकालविरुद्ध ठगीसम्बन्धी उजुरीहरू परेका थिए। नवलपरासी जिल्ला अदालतले २०८१ साल साउन १४ गते उनलाई पक्राउ गर्न म्याद जारी गरेपछि ढकाल फरार रहँदै आएका थिए। विशेष प्रहरी टोलीले अन्ततः उनलाई २०८२ वैशाख ८ गते पक्राउ गर्न सफल भयो।
ढकालमाथि नेपाल तथा भारतका विभिन्न व्यापारीहरूसँग करिब ५ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको आरोप छ।
प्रहरीका अनुसार, ढकालले आफू ठूला नेताहरूको निकट कार्यकर्ता भएको भन्दै व्यापारीहरूलाई प्रभावित गर्ने र कारोबारपछि रकम नतिरी धम्की दिने, फोन बन्द गर्ने, लोकेशन परिवर्तन गर्ने, र दोहोरो परिचय प्रयोग गर्ने गतिविधि गर्दै आएका थिए।
हाल ढकाललाई जिल्ला प्रहरी कार्यालयमा राखी प्रारम्भिक बयान लिइँदैछ। उनलाई अदालतमा उपस्थित गराई कानुनी प्रक्रिया अघि बढाइने प्रहरी स्रोतले जनाएको छ। प्रहरीले अन्य सम्भावित पीडितहरूलाई पनि उजुरी गर्न आह्वान गरेको छ।



