
काठमाण्डौं — सिरहाको नवराजपुर गाउँपालिका–२ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते तथा जालसाजी मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनलाई सोमबार बिहान घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।
साहमाथि वडाध्यक्ष सुरेशकुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरी चारकिल्ला सिफारिस बनाएको आरोप छ। प्रहरीका अनुसार २०८० माघ १९ गते यस सम्बन्धमा उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीले अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहेको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
खुशीलाल साह २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा नं. २ को वडाध्यक्षमा निर्वाचित भएका थिए। तर २०७९ सालको स्थानीय निर्वाचनमा उनले नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दिँदा पराजित भएका थिए।



