
बारा ।

बारा प्रहरीले विभिन्न स्थानमा सञ्चालन गरेको विशेष चेकिङ अभियानका क्रममा ३६७ किलो १४० ग्राम लागू औषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक पनि रहेका छन्।
ट्रकबाट ठुलो परिमाणमा गाँजा बरामद
बारा जिल्ला जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. ३ बजनीमा प्रहरीले मकवानपुर र हेटौंडा क्षेत्रका ३ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमा मकवानपुर कैलास गाउँपालिका–४ का ३२ वर्षीय राजन लामा, हेटौंडा उपमहानगरपालिका–३ का ३३ वर्षीय ईश्वर लोप्चन, र कैलास गाउँपालिका–१० का २७ वर्षीय जीवन ठोकर रहेका छन्।
उनीहरू चढेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रक हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको अवस्थामा रोकी चेकजाँच गर्दा ट्रकभित्र लुकाइ छिपाई राखिएको ३०५ किलो गाँजा बरामद गरिएको बारा प्रहरीका प्रवक्ता, डिएसपी विजयराज पण्डितले जानकारी दिए।
थप गाँजा र भारतीय नागरिकसहित पक्राउ
ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले २ किलो १४० ग्राम गाँजासहित प्रसौनी गाउँपालिका–४ खुटवाका ३१ वर्षीय पवन कुमार साहलाई पक्राउ गरेको छ।
त्यसैगरी, ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले पचरौता नगरपालिका–१ मुसहरीटोलस्थित मकै बारी हुँदै भारततर्फ ओसार्न लागेको अवस्थामा ६० किलो गाँजा बरामद गरेको छ।
प्रहरीले घटनास्थलबाट भारत बिहार प्रान्त मोतिहारी जिल्लाको बिजवनी थाना अन्तर्गत जितना ग्राम रेगनिया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई पनि नियन्त्रणमा लिएको जनाएको छ।
अभियान निरन्तर, अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालय बाराले लागू औषध नियन्त्रण अभियान अन्तर्गत नियमित चेकजाँच तथा निगरानीलाई अझ कडाईका साथ अघि बढाएको जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।



