
काठमाडौं — भारतीय एम्बुलेन्समार्फत ठूलो परिमाणमा लागुऔषध तस्करी गर्ने प्रयासमा संलग्न चार जना भारतीय नागरिकलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
शनिबार बिहान १:५५ बजे ललितपुरको बागमती गाउँपालिका–३ छपेलीस्थित सडकबाट प्रहरीले बीआर ०५प ०४२१ नम्बरको एम्बुलेन्स जाँच गर्दा ९४ हजार ८० थान ट्रामाडोल ट्याब्लेट बरामद गरेको हो।

उक्त एम्बुलेन्स वीरगञ्ज हुँदै काठमाडौँतर्फ आउँदै गरेको थियो। प्रारम्भिक अनुसन्धानमा एम्बुलेन्समा एक बालक र एक बालिका पनि सवार रहेको खुल्न आएको छ, जसलाई आवरणको रूपमा प्रयोग गरिएको हुन सक्ने आशंका गरिएको छ।
पक्राउ परेका सबै व्यक्ति भारतीय नागरिक रहेको र उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



