
काठमाण्डौं । प्रहरीले मोरङको जहदा गाउँपालिकाबाट १ हजार १ सय २ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार दिउँसो गाउँपालिकाको वडा नम्बर ७ स्थित स्थानीय उमेश कामतको घरमा लुकाइराखेको अवस्थामा र अन्य स्थानबाट ठूलो परिमाणमा गाँजा फेला परेको हो।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीका अनुसार २७ वर्षीय कामतको घरबाट १ हजार ८८ किलो र जहदा गाउँपालिका–५ स्थित अरविन साहको घरबाट १४ किलो गाँजा बरामद गरिएको छ। प्रहरीको टोलीले दिउँसो साढे १ बजे कामतको घर खानतलासी गर्दा गाँजा फेला पारेको हो।

सोही क्रममा कामतलाई पक्राउ गरिएको डीएसपी जोशीले जानकारी दिए। त्यसपछि दिउँसो करिब २ बजे जहदा–५ निवासी ३३ वर्षीय साहको घरबाट थप १४ किलो गाँजा बरामद गरिएको उनले बताए। साहलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
पक्राउ परेका दुवै जनालाई बरामद गरिएको गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। प्रहरीले उक्त गाँजा भारततर्फ तस्करी गर्ने योजनामा रहेको आशंका गरेको छ।



