काठमाण्डौं— महोत्तरी जिल्लामा पछिल्लो पन्ध्र दिनको अवधिमा करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ। लागुऔषध नियन्त्रण ब्यूरो, बर्दिबासको सक्रियतामा विभिन्न स्थानमा छापामारी गर्दै उक्त परिमाणको गाँजा बरामद गरिएको हो।

ब्यूरोका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीका अनुसार, पहाडी जिल्लाहरूबाट लुकाइछिपाइ ल्याइएको गाँजा प्रहरीले विभिन्न ठाउँमा जाँच गर्ने क्रममा फेला पारेको हो।

बर्दिबासमा ट्रकबाट दुई क्विन्टल ३५ किलो गाँजा बरामद

सोमबार साँझ बर्दिबास–३ गौरीडाँडास्थित बीपी राजमार्गमा ट्राफिक प्रहरी पोष्ट अगाडि वागमती प्रदेश–०१–००६–ख ५३७१ नम्बरको ट्रक जाँच गर्दा हुटमाथि प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा दुई क्विन्टल ३५ किलो गाँजा बरामद भएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार, सोही ट्रकका चालक मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कविराज गोलेलाई पक्राउ गरिएको छ।

चैत ३ गते ५४७ किलो गाँजा बरामद

यसअघि, यही चैत ३ गते सोही गौरीडाँडा क्षेत्रमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बा३ख ५८३२ नम्बरको ट्रकबाट ५४७ किलोग्राम गाँजा बरामद भएको थियो। उक्त घटनामा संलग्न ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे–७ का ३७ वर्षीय सलिन मगरलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

चैत ८ गते पाँच क्विन्टल १० किलो गाँजा बरामद

त्यस्तै, चैत ८ गते ढल्केबर–जनकपुर सडकखण्डअन्तर्गत लक्ष्मीनियाँ चोकमा मधेस प्रदेश–०३–००२–ख २५२० नम्बरको ट्रक जाँच गर्दा पाँच क्विन्टल १० किलो गाँजा बरामद भएको थियो। यसमा संलग्न ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिन्तानलाई पनि पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ।

लागुऔषध ओसारपसारको गतिविधि बढ्दै गएपछि प्रहरीले निगरानी अझै कडा बनाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय