
काठमाण्डौं— हराएको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंक खाता खोली ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका-५ का २० वर्षीय अरूणकुमार यादव र २८ वर्षीय अभिषेक यादव रहेका छन्। सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उनीहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

गत असार महिनामा एक व्यक्तिको नागरिकता हराएको थियो। उक्त नागरिकता अरूणकुमारले फेला पारेर त्यसमा भएको फोटो हटाई आफ्नो फोटो टाँसेर बैंक खाता खोलेका थिए। अभिषेकले यस कार्यमा सहयोग गरेको खुलेको छ।
खातासम्बन्धी ठगीका लागि अरूणकुमार विराटनगर पुगेका थिए। उनले त्यहाँको सिटिजन्स बैंकमा पीडितको नाममा खाता खोले। खाता सञ्चालनमा आएपछि विभिन्न व्यक्तिहरूबाट लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।
‘दुबैले कति रकम ठगी गरे भन्नेबारे बैंकसँग विवरण मागिएको छ,’ प्रहरी उपरीक्षक खतिवडाले बताए। ‘पहिले नागरिकता दुरुपयोग तथा किर्ते अभियोगमा अनुसन्धान थालिएको छ। बैंकबाट ठगीसम्बन्धी थप विवरण आएपछि कारबाही प्रक्रिया अघि बढाइनेछ।’
सप्तरी प्रहरीले जिल्ला अदालतबाट दुबै जनालाई थुनामा राख्ने अनुमति लिएर थप अनुसन्धान अघि बढाएको छ।



