
काठमाडौं— प्रहरीले स्रोत नखुलेको झन्डै २९ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। कपिलवस्तु प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरूलाई कपिलवस्तुको एउटा फेन्सी पसलबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-५ का ३० वर्षीय गोबिन्द बिक, कपिलवस्तुको मायादेवी गाउँपालिका-८ का ३८ वर्षीय सोमनाथ कसौधन, कपिलवस्तु नगरपालिका-११ का ४२ वर्षीय शेषमणि गिरी र रुपन्देहीको बुटवल उपमहानगरपालिका-१६ का ४१ वर्षीय वसन्त खरेल रहेका छन्।

पक्राउ परेकामध्ये बिकको साथबाट भारतीय रुपैयाँ ५०० का १,८०० थान (कुल ९ लाख भारतीय रुपैयाँ) तथा नेपाली रुपैयाँ १४ लाख बरामद भएको छ। त्यस्तै, कसौधनको साथबाट नेपाली रुपैयाँ १,००० का १,२९४ थान र ५०० का ३१२ थान गरी कुल २८ लाख ९० हजार बरामद भएको छ।
अन्य दुई जना गिरी र खरेल उनीहरूसँगै संलग्न रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
कपिलवस्तुको वाणगंगा नगरपालिका-४ जितपुरस्थित केसी फेन्सी स्टोरमा स्रोत नखुलेको भारतीय नोटको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
बरामद रकमसहित पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएको छ।



