
इलाम – इलामको सुर्योदय नगरपालिका–११, सुन्तले संयुक्त टोलस्थित ५१ वर्षीय धनराज राई आफ्नै घरको भुइँतलाको कोठामा मृत अवस्थामा फेला परेका छन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक छे फिन्जो भोटे नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धानका लागि घटना स्थल अधिकृत (SOCO) टोली समेत परिचालन गरिएको थियो।

प्रहरी अनुसन्धानका क्रममा मृतक धनराज राईको टाउकोको पछाडिको भाग र निधारमा गम्भीर चोट देखिएको छ। कोठाभित्र रगत जमेको अवस्थामा भेटिएको थियो।
घटनाको गम्भीरता हेर्दै जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्र.उ. एकनारायण कोईरालाको नेतृत्वमा विशेष अनुसन्धान टोली परिचालन गरिएको भएको थियो । साथै, नेपाल प्रहरी प्रदेश कार्यालय धरानको केनाई शाखाबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.)को कमान्डमा चारजना कुकुर (DOG) सहितको टोली समेत खटिएको थियो। प्रहरीको विस्तृत अनुसन्धानपछि मृतकको हत्या गरिएको पुष्टि भईसकेपछि घटनामा संलग्न अभियुक्तहरूको खोजीकार्य तीव्र बनाइएपछि २०७८ माघ २८ गते साँझ ५:०० बजे सुर्योदय नगरपालिका–११, सुन्तलेका विभिन्न स्थानबाट लुकीछिपी बसेका अवस्थामा ६ जनालाई पक्राउ गरिएको छ।
पक्राउ परेका अभियुक्तहरूमा मंगेश भन्ने एडवर्ड राई, मालती तामाङ (राई, सुमन भन्ने नविन कुमार राई, निशान राई ,राजीव राई र दिवस राई रहेका छन् ।
पक्राउ परेका अभियुक्तहरूविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एक नारायण कोईरालाले जानकारी दिनु भयो ।



