काठमाण्डौं— पश्चिम नवलपरासी प्रहरीले लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा चार राउण्ड गोली प्रहार गरेको छ।

गए राति ८ बजे रामग्राम नगरपालिका–१२ पचगाँवाका राजेश लोनियाको घरबाट लागुऔषध (ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरी पुगेको थियो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी एवं सूचना अधिकारी रेशम बोहराका अनुसार, लोनियाले बिक्री वितरणका लागि लागुऔषध घरमा राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको कमाण्डमा पाँच जनाको टोली उनको घर पुगेको थियो।

प्रहरीले परिचय दिएर खानतलासी गर्दा लोनियाले प्रतिकार गर्ने प्रयास गरेपछि झडप भएको थियो। भाग्न खोज्दा प्रहरीले गोली प्रहार गर्दा लोनियाको बायाँ साप्रामा एक राउण्ड गोली लागी घाइते भएका छन्। उनको जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको छ, र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट ९३ पुडिया ब्राउनसुगर बरामद गरिएको छ भने लागुऔषध कारोबारमा संलग्न अर्का एक व्यक्ति फरार भएका छन्। पछिल्लो समय जिल्लामा लागुऔषध कारोबार बढ्दै गएपछि प्रहरीले कडा निगरानी राख्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय