धरान — सुनसरीको धरान उपमहानगरपालिका-१५ मा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ। धरान सदन रोडका लालबहादुर राईका २१ वर्षीय छोरा रिजन राईको साथीहरूसँग विवादपछि हत्या गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाका अनुसार, रिजनले आफ्ना साथीहरूसँग बसेर चिया खाएको बेला पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार भएको थियो। गम्भीर घाइते रिजनलाई प्रहरीले उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा लगेको थियो।

डिएसपी तिमल्सिनाले रिजनको टाउको, बायाँ कुम, हातको हत्केला र कुहिनामा गहिरो चोट लागेको बताए। उपचारकै क्रममा प्रतिष्ठानमा रिजनको मृत्यु भएको हो।

रिजनको हत्या प्रकरणमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान-८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र धरान-५ का २१ वर्षीय सुदिप तामाङ रहेका छन्।

पक्राउ परेकाहरूलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय