
धनगढीः कैलालीको धनगढीमा तस्करीको सामान बिक्री गर्ने एक प्रहरी सहायक हवल्दारमाथि छानबिन सुरु भएको छ।
त्रिनगर प्रहरी चौकीका प्रहरी सहायक हवल्दार विक्रम चन्दले ९ महिनादेखि तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेपछि छानबिन सुरु भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराको नेतृत्वमा छानबिन टोली गठन गरिएको छ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार चन्दले तस्करीको सामान बिक्री गर्दै आएको आरोप लागेपछि प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको निर्देशनमा छानबिन टोली गठन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले प्रदेश प्रहरी प्रमुख केसीलाई घटनाको विषयमा जानकारी गराएपछि छानबिन गर्न निर्देशन दिइएको छ। डिएसपी बोहराले छानबिन सुरु भएको बताए। उनका अनुसार उनी नेतृत्वको टोलीले पीडित भनिएका कवाड व्यापारी, त्रिनगर प्रहरी चौकीका प्रमुख शैलेन्द्र चन्द, स्थानीय तथा अन्य प्रहरी कर्मचारीहरुसँग सोधपुछ सुरु गरिएको छ।
सादा पोसाकमा त्रिनगर प्रहरी चौकीमा कार्यरत चन्दले त्रिनगर प्रहरीले जफत गरेका तस्करीका सामान बिक्री गर्दै आएको विषयमा छानबिन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।



