
धनगढी । शुक्रबार अर्थात् दशैको अघिल्लो दिन असोज २५ गते राति आरतीको शव प्लास्टिकको बोरामा फेला पर्यो । घटना घटेको केही समयमै प्रहरीले मृतकको पहिचान गर्न सफल भयो । उनि थिईन अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया किशोरी आरती भट्टराई। घटनाको जानकारी पाएको केही घण्टामै एक जना आरोपितलाई समेत प्रहरी पक्राउ गरिसकेको थियो ।
आज आएको पोष्टमार्टम रिपोर्टले आरती भट्टराईको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ।बालिका हत्या आरोपितले पनि आवेशमा आएर घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष यसअघि नै स्वीकार गरेको र रिपोर्टले पनि त्यही देखाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका कार्यालय प्रमुख डिएसपी सुगन्ध श्रेष्ठले बताउनु भयो ।

आरतीको श्वासप्रस्वास प्रणाली बन्द भएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ ।डिएसपी श्रेष्ठका अनुसार मृतकको भजाइनल स्वाब, कपाल र रगत परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको समेत जानकारी दिनु भयो ।
पक्राउ परेका सोही स्थानका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरिसकेको छ । साथै भोली सरकारी वकिलको कार्यालयमा मुद्दा समेत दर्ता गर्ने तयारी गरिएको डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिनु भएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको समेत डिएसपी श्रेष्ठले बताउनु भएको छ ।



