
काठमाडौं । पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिका क्षेत्रमा सुरक्षा निकायको संयुक्त अपरेसनका क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। कारमा लुकाइछिपाइ ओसारपसार गर्दै ल्याइएको करिब १६० किलो गाँजासहित चालकलाई नियन्त्रणमा लिइएको हो।

सुरक्षा स्रोतका अनुसार सोमबार मधुवनीचोकतर्फ आइरहेको बा.प्र.०१–००२च ५४३२ नम्बरको सुजुकी स्विफ्ट कार जाँचका क्रममा शंकास्पद देखिएपछि रोकी तलासी लिइएको थियो। तलासीका क्रममा गाडीको डिक्कीभित्र प्याकेट बनाई राखिएको गाँजा फेला परेको बताइएको छ।
पक्राउ पर्नेमा चालक बुद्धिलाल घलान रहेका छन्। उनले गाँजा फालेर उम्किन खोजेको अवस्थामा नियन्त्रणमा लिइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
घलानको साथबाट नगद २२ हजार ५ सय रुपैयाँ र एक थान स्मार्टफोनसमेत बरामद गरिएको छ। उनलाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको जनाइएको छ।



