
झापा। झापा जिल्लामा केही समयअघि आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट हराएको एक थान पेस्तोल, त्यसको म्याग्जिन र ४० राउण्ड गोली प्रहरीले पुनः बरामद गरेको जनाएको छ।
प्राप्त सूचनाका आधारमा कन्काई नगरपालिका–८ स्थित एक घरमा लुकाइराखिएको अवस्थामा उक्त हातहतियार फेला परेको हो। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोली र लागूऔषध नियन्त्रण ब्युरो काकभिट्टाको संयुक्त टोलीले घरमा खानतलासी गर्दा कुखुराको खोर नजिक प्लास्टिकको भाँडाभित्र लुकाइएको अवस्थामा पेस्तोल, म्याग्जिन र गोली बरामद गरिएको बताइएको छ।

प्रारम्भिक अनुसन्धानमा बरामद गरिएको हातहतियार भदौ २४ गतेको आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको नै भएको पुष्टि भएको प्रहरीको भनाइ छ।
घटनामा संलग्न भएको आशंकामा एक युवकलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता, २०७४ अनुसार अनुसन्धान अघि बढाइएको छ। अर्को एक व्यक्ति भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



