
काठमाडौं— हुन्डी कारोबारसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाउँदै आमाबाट पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ४० वर्षीय दीपक थापा मगरलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, थापा मगरले आफू प्रहरी भएको झुटो परिचय दिँदै हुन्डी मुद्दामा पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई “उच्च तहसम्म मिलाएर छुटाइदिन्छु” भन्ने आश्वासन दिएका थिए। कानुनी प्रक्रियाबारे डर देखाउँदै उनले शेर्पाकी आमाबाट पाँच लाख रुपैयाँ असुलेको प्रहरीले जनाएको छ।

रकम लिएपछि सम्पर्कविहीन बनेका थापा मगरलाई प्राविधिक निगरानीका आधारमा काठमाडौं महानगरपालिका–३ बानियाँटारबाट पक्राउ गरिएको हो। उनलाई ठगी तथा नक्कली परिचय प्रयोगसम्बन्धी कसुरमा मंगलबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए।
प्रहरीले कसैले आफू प्रहरी वा सरकारी अधिकारी भन्दै पैसा मागेमा विश्वास नगर्न र तुरुन्त उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।



