
काठमाडौँ । विगत तीन महिनादेखि काठमाडौंमा रातको समयमा सर्वसाधारणको गहना र नगद लुटपाट गर्दै आएको ठुलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ, प्रहरी वृत्त स्वयम्भू, गौशाला र बौद्धको संयुक्त टोलीले काठमाडौँका विभिन्न स्थानबाट गिरोहका सदस्यहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको अनुसन्धानअनुसार, गिरोहका सदस्यहरू दुई–तीन मोटरसाइकलमा तीन–तीन जनाको समूहमा चढेर रातमा लुटपाट गर्ने गरेका थिए। लुटपाटको क्रममा पीडितहरूमाथि कुटपिट समेत गर्ने गरिएको र कतिपयको कान च्यातिने तथा गम्भीर चोट लाग्ने अवस्था देखिएको छ।
पक्राउ पर्नेमा लुटपाटका मुख्य योजनाकार २३ वर्षीय विनय तामाङ रहेका छन्। अन्य सदस्यहरूमा २३ वर्षीय आयन माझी, २३ वर्षीय मिनस रसाइली, ३२ वर्षीय समन माझी, २९ वर्षीय पेमा तामाङ, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी, २२ वर्षीय विशाल तामाङ, २८ वर्षीय विदुर विश्वकर्मा र २९ वर्षीय फुवा तामाङ रहेका छन्।
धेरै सदस्यहरूको आपराधिक पृष्ठभूमि रहेको र यसअघि चोरी तथा डाँका मुद्दामा जेल सजाय भोगिसकेको प्रहरीको तथ्यांकमा उल्लेख छ। गिरोहले लुटपाट गर्नुअघि बा १२ च ७७०१ नम्बरको निजी गाडीमा रेकी गर्ने र दिउँसो ट्याक्सी चलाएर राति लुटपाटमा प्रयोग गर्ने गरेको पाइएको छ।
प्रहरीले लुटपाटमा प्रयोग भएका ६ वटा मोटरसाइकल, एउटा निजी कार र बागमती प्रदेश ०१००२ ज ०७६६ नम्बरको ट्याक्सी बरामद गरेको छ। बरामद मोटरसाइकलहरूमा एनएनएस, पल्सर २२० र केटीएम आरसी जस्ता तीव्र गतिका सवारी साधनहरू रहेका छन्।
गिरोहले काठमाडौंका बौद्ध, कुमारीगाल, चाबहिल, भीमसेनगोला, एयरपोर्ट, स्वयम्भू, विजेश्वरी, कारखानाचोक, डल्लु, नयाँ बजार, बुढानीलकण्ठ, कपन र कोटेश्वर क्षेत्रमा लुटपाट गरेको पाइएको छ। साथै लुटिएका सामान किन्ने कार्यमा संलग्न खोटाङ ज्वेलर्स र सुन–चाँदी कालीगढ पसलमा काम गर्ने व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको छ।
हालसम्म २७ जना पीडितहरू प्रहरीको सम्पर्कमा आएका छन् भने उनीहरूको विरुद्ध अहिलेसम्म जम्मा ४ वटा जाहेरी दर्ता भइसकेको छ। लुटपाटमा सुनका औँठी, सिक्री, मुन्द्रा, टप, ब्रासलेट, आइफोन र ठुलो नगद रकम समावेश थियो।
प्रहरीले थप अनुसन्धान जारी राखेको छ र अन्य फरार व्यक्तिहरूको खोजीमा सक्रिय रहेको जनाएको छ।



