
काठमाण्डौं- काठमाडौंको मूलपानी क्षेत्रमा बुधबार राति लुटपाटको घटनामा संलग्न समूहलाई जिल्ला प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ। प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका ती १० जनामध्ये मुख्य नाइके विनय तामाङ दायाँ खुट्टामा गोली लागेको छ र अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत छन्।
प्रहरी अनुसन्धानअनुसार, तामाङको समूहले एकै रातमा ४ वटा लुटपाटसमेत गरेको खुलेको छ। समूहले उपत्यकामा रातको समयमा महिलाहरूको कानको गहना लुट्ने र एकान्त स्थानमा मानिसहरूलाई लुटेर मोटरसाइकलमा फरार हुने गरेको प्रहरी स्रोतले बताएको छ।

उक्त समूहले काठमाडौं उपत्यकामा २२ वटा लुटपाट घटनामा संलग्न रहेको अनुसन्धानले देखाएको छ। उनीहरूमा काभ्रे स्थायी घर भएका तिन जनासमेत छन्, जो भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा हिरासतबाट भागेका थिए।
प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ र उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।



