
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतीको हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। माघ ३ गते राति शौचालय गएकी २० वर्षीया पुनमाया बिकको हत्या गरी फरार भएका ३२ वर्षीय रमेश कामी (प्रेम) लाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पोखरा महानगरपालिका–२३ ठुलाखेत स्थायी घर भई हाल पोखराको सिर्जना चोकमा डेरा गरी बस्दै आएका रमेशलाई माघ ४ गते साँझ करिब ९ बजे पोखरा महानगरपालिका–१७ बिरौटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
प्रहरी निरीक्षक गोविन्द सुवेदीका अनुसार रमेशलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा म्याग्दी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
प्रहरी अनुसन्धानका क्रममा रमेशले पोखराबाट बागलुङको ढोरपाटन हुँदै झिनडाडास्थित माइतीघर पुगेकी पुनमायामाथि चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्। घटनासँग सम्बन्धित प्रमाणका रूपमा रमेशको साथबाट घटनाका बेला लगाएको रगतजस्तो रातो पदार्थ लागेको दाग देखिने कम्ब्याट ज्याकेट, रेडमी मोबाइल फोन तथा एनसेल र नेपाल टेलिकमका सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।



