
विराटनगर : लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बोकेर विराटनगर प्रवेश गरेका तीनजना भारतीय युवकलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा सवार उनीहरूलाई दिउँसो करिब १ बजेतिर विराटनगर महानगरपालिका–१७ स्थित आईसीपी रोडबाट नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले शंका लागेपछि उनीहरू सवार मोटरसाइकल रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा पछाडि सवार युवकको साथबाट ठूलो परिमाणको ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ पर्नेहरू भारत, बिहार राज्यको अररिया जिल्ला खैराखगरा–४ का १९ वर्षीय राजकुमार साह, २० वर्षीय सेठू कुमार र २० वर्षीय रोशन कुमार रहेका छन्। उनीहरू बीआर ३८ एपी ९०४९ नम्बरको मोटरसाइकलमा सवार थिए।
प्रहरीका अनुसार चेकजाँच गर्दा राजकुमार साहले ‘देभगन्ध’ लेखिएको धूपको बट्टाभित्र लुकाइछिपाइ राखेको अवस्थामा १ सय ४ ग्राम ब्राउन सुगर फेला परेको हो। बरामद लागुऔषध, मोटरसाइकल र तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार पक्राउ परेकाहरू नेपालमा लागुऔषध आपूर्ति गर्न आएको हुनसक्ने देखिएको छ। प्रहरी स्रोतका अनुसार उनीहरू केही समययता भारतीय भूमिबाट नेपालमा लागुऔषध ‘सप्लाई’ गर्ने कार्यमा संलग्न रहेको सूचनाका आधारमा निगरानीमा थिए।
इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूमाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



