बर्दिया, पौष २३, २०८२ — लागू औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखाले लागू औषध ओसारपसार विरुद्धको अभियानमा अर्को उल्लेखनीय सफलता हासिल गरेको छ। शाखा प्रमुख नविन शाहीको कमाण्डमा सञ्चालन भइरहेको विशेष अपरेसनअन्तर्गत २६६ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित एक जना व्यक्तिलाई पक्राउ गरिएको हो।

भारतबाट नेपालतर्फ लागू औषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा ब्यूरोले बर्दिया जिल्लामा विशेष अपरेसन सञ्चालन गरेको थियो। सोही क्रममा २०८२ साल पौष २३ गते साँझ ५:४५ बजे, बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११, लालपुर नजिकबाट एक व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्ने व्यक्ति भारतको उत्तर प्रदेश राज्य, बहराईच जिल्ला, जमील लौकाही निवासी ३३ वर्षीय फिरोज खान रहेका छन्।

अपरेसनको विवरण

विशेष सुराकीको सूचनाका आधारमा खटिएको लागू औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखाको टोलीले खानलाई नियन्त्रणमा लिन खोज्दा उनले भाग्ने प्रयास गरेका थिए। सो क्रममा उनलाई रोक्न प्रहरीले २ राउण्ड गोली प्रहार गरेको जनाएको छ। तीमध्ये १ राउण्ड गोली खानको दाहिने खुट्टामा लागेको र अर्को राउण्ड उनलाई नलागेको प्रहरीले जानकारी दिएको छ।

घाइते अवस्थामा नियन्त्रणमा लिइएका खानको कानुनबमोजिम खानतलासी गर्दा उनले लगाएको पाइन्टको दाहिने खल्तीभित्र लुकाएर राखिएको लागू औषध खैरो हेरोइन फेला परेको थियो। बरामद लागू औषधलाई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित २८३ ग्राम र प्लाष्टिक हटाई शुद्ध तौल २६६ ग्राम ५६० मिलिग्राम रहेको पुष्टि भएको छ।

यसका साथै खानको साथबाट मोबाइल फोन ३ थान समेत बरामद गरिएको ब्यूरोले जनाएको छ।

घाइते अभियुक्तलाई आवश्यक उपचारपछि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखाले जानकारी दिएको छ।

ब्यूरोले लागू औषध विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै यस्ता विशेष अपरेसनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय