काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिल नजिक रहेको एक गेस्टहाउसको कोठाबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले दुई जनालाई खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८२ साल पुस १७ गते अपराह्न करिब ४:३० बजे प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले गेस्टहाउसमा छापा मारी ३५ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–७ चाबहिल बस्दै आएका ३२ वर्षीय विशाल राई तथा सुनसरी जिल्लाकै कोशी गाउँपालिका–२ घर भई हाल चाबहिल क्षेत्रमा बसोबास गर्दै आएका २४ वर्षीय दयानन्द यादव रहेका छन्।

छापाका क्रममा उनीहरूको साथबाट लागुऔषधका साथै तौल गर्ने डिजिटल तराजु एक थान र तीन थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय