
काठमाडौं । काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित स्टोर्म नेटवर्क प्रा.लि. र ईको भ्याली प्रा.लि.बाट ६५ लाख रुपैयाँभन्दा बढी नगद तथा गरगहना चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८२ साल पुस १२ गते राति करिब ११:३० बजेको समयमा स्टोर्म नेटवर्क प्रा.लि.बाट ४८ लाख ७२ हजार ६२० रुपैयाँ र ईको भ्याली प्रा.लि.बाट ८ लाख ५८ हजार ५४१ रुपैयाँ चोरी भएको थियो।

घटनापछि चोरीमा संलग्न व्यक्तिको खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङसँगको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा घर भई हाल काठमाडौं महानगरपालिका–२ खुर्सानीटार बस्दै आएका २४ वर्षीय दुर्गा बहादुर के.सी. लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार के.सी.को साथबाट तथा घर खानतलासी गर्दा कुल ६५ लाख १७ हजार १४० रुपैयाँ नगद बरामद गरिएको छ। साथै चाँदी जस्तो देखिने सेतो धातुका १५ थान ब्रासलेट, साना–ठूला गरी २८ थान सिक्का, १ थान सेतो धातुको गहना र डेल कम्पनीको १ थान ल्यापटप पनि बरामद गरिएको छ।
पक्राउ परेका के.सी.लाई हाल प्रहरी वृत्त मालिगाउँबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।



