सिन्धुली । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना व्यक्तिलाई प्रहरीले सिन्धुलीको भिमान चेकपोस्टबाट पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिसँग २०१.६९० ग्राम ब्राउन सुगर बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासले जनाएको छ।

मिति २०८२ साल पुस १५ गते दिउँसो करिब ३:३० बजे जिल्ला सिन्धुली कमलामाई नगरपालिका–९ भिमान चेकपोस्टस्थित बी.पी. राजमार्गमा विशेष सूचनाको आधारमा सवारी चेकजाँच गरिएको थियो। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासका प्र.ना.नि. सरोजकुमार अधिकारी र इलाका प्रहरी कार्यालय भिमानका प्र.नि. राजु के.सी. खत्रीको संयुक्त कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाडौँबाट राजविराजतर्फ जाँदै गरेको बा ५ ख १९६७ नम्बरको हायस गाडी रोकी चेकजाँच गरेको हो।

चेकजाँचका क्रममा हायसको अन्तिम सिटमा सवार मोरङ विराटनगर महानगरपालिका–५ निवासी अन्दाजी ३४ वर्षीय महम्मद समसिरको गतिविधि शंकास्पद देखिएपछि शरीर खानतलासी गरिएको थियो। सो क्रममा उनले लगाएको निलो जिन्स पाइन्टको अगाडिको दायाँ गोजीमा सेतो रङका दुईवटा प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ ल्याएको खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित २०१.६९० ग्राम र प्लास्टिक बाहेक शुद्ध तौल १९५.५९० ग्राम रहेको पुष्टि भएपछि उनलाई तत्काल पक्राउ गरिएको हो। पक्राउ परेका समसिरलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय