विराटनगर । मोरङमा प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको एम्बुलेन्सबाट ५ सय २१ किलो गाँजा बरामद गरेको छ।

आइतबार राति करिब ११ बजे केराबारी गाउँपालिका–५, लाफा टोलमा गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो। प्रहरीको कारबाहीपछि गाँजा लोड गरिएको एम्बुलेन्ससहित दुई जनालाई पक्राउ गरिएको छ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार नियन्त्रणमा लिएको एम्बुलेन्सबाट गाँजा निकालेर तौल गर्दा कुल ५ सय २१ किलो गाँजा फेला परेको हो। प्रारम्भिक अनुसन्धानबाट गाँजा ओसारपसारका लागि एम्बुलेन्सको दुरुपयोग गरिएको खुलेको उनले जानकारी दिए।

प्रहरीका अनुसार एम्बुलेन्सभित्र १६ वटा पोकामा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय