
लुम्बिनी, पुस ७ — नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
लागुऔषध ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट सई सागर भट्टराईको कमाण्डमा तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले परासी बजार आसपासको क्षेत्रमा चेकजाँचका क्रममा दुई वटा मोटरसाइकलसहित चार जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सहारेदिन अन्सारी जोलाहा र कृष्ण कुमार चौधरीको साथबाट डाईजेपाम १५० एम्पुल, फेनरागन १५० एम्पुल र ब्रुफिननुफ्रिन १५० एम्पुल बरामद गरिएको थियो।
उनीहरूबाट प्राप्त सूचनाका आधारमा सोही दिन ईरसाद अली र नव रसुललाई UP 56 BE 5537 नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट बोरामा लुकाइ ल्याइएको डाईजेपाम १,४९४ एम्पुल, फेनरागन १,४९८ एम्पुल, ब्रुफिननुफ्रिन १,४९१ एम्पुल तथा नगद नेपाली रुपैयाँ ४० हजार बरामद गरिएको हो।
त्यसैगरी सहारेदिन अन्सारी जोलाहाको घरमा समेत लागुऔषध लुकाइ राखिएको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा थप डाईजेपाम ४४३ एम्पुल, फेनरागन ४४३ एम्पुल र ब्रुफिननुफ्रिन ४५३ एम्पुल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट जम्मा डाईजेपाम २,०८७ एम्पुल, फेनरागन २,०९१ एम्पुल र ब्रुफिननुफ्रिन २,०९४ एम्पुल गरी कुल ६ हजार २७२ एम्पुल लागुऔषध, दुई वटा मोटरसाइकल, ६ थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ ४० हजार बरामद गरिएको छ।
पक्राउ परेका चारै जनालाई पुस ८ गते नवलपरासी जिल्ला अदालत, परासीबाट पुस ७ गतेदेखि लागू हुने गरी १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का सूचना अधिकारी प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिनुभएको छ।



