
वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा १७६ किलो लागूऔषध गाँजासहित एक व्यक्ति र पिकअप गाडी नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–१७ स्थित अलौ टोलबाट गाँजासहित पक्राउ पर्नेमा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ का २८ वर्षीय सुबराज श्रेष्ठ रहेका छन्।

प्रहरी चौकी श्रीसियाका प्रमुख तथा वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादवको कमान्डमा खटिएको टोलीले वीरगन्ज–१७ स्थित स्वास्थ्य चौकी नजिक अलौबाट कोनिया तर्फ जाँदै गरेको बा २१ च ७८५५ नम्बरको पिकअप गाडी रोकी जाँच गर्ने क्रममा पछाडिपट्टि प्लास्टिकको बोरामा १२ पोका गरी राखिएको १७६ किलो लागूऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए।
पक्राउ परेका श्रेष्ठविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकले बताए।



