
रुपन्देही । बहु–विवाह तथा बैंकिङ्ग कसूरसम्बन्धी फरार रहेका तीन जना प्रतिवादीलाई रुपन्देही प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीको सक्रियतामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुई फरार दोषी बहु–विवाह मुद्दामा पक्राउ

रुपन्देही जिल्ला अदालतले मिति २०७७ माघ २० गते सुनाएको फैसलामा बहु–विवाह मुद्दामा दोषी ठहर भएका— जगदम्मा थारू, र फूलकुमारी थारू लाई क्रमशः १ वर्ष ६ महिना र १ वर्ष ५ महिना ४ दिन कैद, प्रत्येकी रु १० हजार जरिवाना र रु ४०० क्षतिपूर्ति तिर्न आदेश भएको थियो।
फैसला पछि फरार रहेका दुवैजनालाई छपिया प्रहरीले सक्रिय खोजतलास गरी पक्राउ गरेको हो। उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालत, सिद्धार्थनगर भैरहवा पेश गरिएको प्रहरीले जानकारी दिएको छ।
बैंकिङ्ग कसूर मुद्दामा एक फरार अभियुक्त पक्राउ
बैंकिङ्ग कसूरसम्बन्धी मुद्दामा मिति २०८२ मंसिर १० मा अदालतबाट पक्राउ अनुमति जारी गरिएका जितेन्द्र चौधरी फरार अवस्थामा थिए।
सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छपियाको टोलीले चौधरीलाई शुद्धोधन गाउँपालिका–४, फर्साटिकरबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा बुझाएको जनाएको छ।
प्रहरीको निरन्तर सक्रियता
फरार अभियुक्तहरू लगातार पक्राउ परेपछि रुपन्देही प्रहरीले अदालतका फैसलाहरू कार्यान्वयन गर्ने अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ। प्रहरीका अनुसार, पुराना मुद्दामा फरार रहेका अन्य प्रतिवादीहरूको खोजी तथा निगरानी पनि थप कडाइका साथ जारी छ।




