काठमाण्डौं — दाङको तुलसीपुर–५ का २७ वर्षीय नीरज चौधरीको बर्दियाको राजापुरमा भएको हत्या प्रकरणमा फरार रहेका महावीर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले कैलाली गाउँपालिका–५, बैजपुरबाट तुलसीपुर–५ का ५१ वर्षीय महावीर चौधरीलाई नियन्त्रणमा लिएको हो। उनी लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुने खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार राजापुरस्थित हमार थारू रेष्टुरेन्टमा नीरज चौधरीमा गोली प्रहार भएको घटना सार्वजनिक भएपछि अनुसन्धान सुरु गरिएको थियो। घाइते चौधरीलाई उपचारका लागि नेपालगञ्ज पुर्‍याएपछि प्रहरीलाई घटनाबारे जानकारी प्राप्त भएको हो।

घटनापछि महावीर चौधरी मोटरसाइकलमा कैलालीतर्फ गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी कवीन्द्रसिंह बोहराका अनुसार कैलाली प्रहरीको समन्वयमा चौधरीलाई पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट पेस्तोल पनि बरामद गरेको छ।

तर बरामद गरिएको हतियार हत्या घटनासँग प्रत्यक्ष संलग्न छ कि छैन भन्ने पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय