
काठमाडौं । नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाको बिरामी छोराको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ। आइतबार दिउँसो सिनामंगलस्थित डेरामा घाँटी थिचेर छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

चार महिनाका शिशु ब्रेन ट्युमरबाट पीडित थिए। उपचारका क्रममा असई कार्की र उनकी श्रीमती कृष्णा कुँवरबीच विवाद चर्किएपछि कार्कीले छोरामाथि अत्याचार गरेको बताइएको छ। घटनाका क्रममा उनले श्रीमतीलाई समेत कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ। घाइते कृष्णालाई हाल महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
घटनापछि फरार रहेका कार्कीलाई प्रहरीले नागढुंगाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए। कार्कीलाई परिसरको हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ।




