
विराटनगर । मोरङको लेटाङ–२, फडानीकी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा प्रहरीले उनका छिमेकीलाई पक्राउ गरेको छ। करिब दुई महिना लामो अनुसन्धानपछि करिब ५९ वर्षका एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छ।
अंशु गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी थिइन्। कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रमा उनी मृत अवस्थामा फेला परेका थिए। प्रहरीले उनको शरीर अत्यन्तै क्षतविक्षत अवस्थामा भेटिएको जनाएको छ।

मोरङ प्रहरी प्रमुख कवित कटुवालका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। उनका अनुसार पक्राउ परेका व्यक्तिले हत्या गरेको स्वीकार गरिसके पनि केही महत्वपूर्ण विवरण अझै सार्वजनिक गर्न बाँकी छ। प्रारम्भिक रुपमा पारिवारिक रिसिइबी नै मुख्य कारण भएको अनुसन्धानमा आएको प्रहरीको अनुमान छ।
यस घटनामा जिल्ला प्रहरी कार्यालय मोरङ, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सम्मिलित प्रहरी टोलीले संयुक्त रूपमा काम गरेको बताइएको छ।




