काठमाडौँ। पूर्वप्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–६ का ४७ वर्षीय बुद्धिराम दराई रहेका छन्।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार उनलाई बिहीबार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को टोलीले नियन्त्रणमा लिएको हो।

लमजुङ बेँसीसहर नगरपालिका–२ भकुन्डे निवासी ४५ वर्षीया पूर्वप्रहरी हवल्दार कँडेलको २०८१ चैत ३१ गते आफ्नै घरमा शव फेला परेको थियो। घरबाट दुर्गन्ध फैलिन थालेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी पुगेर ताला फोडी घरभित्र हेर्दा, पलङमुनि त्रिपालमा बेरिएको अवस्थामा कँडेलको शव फेला परेको थियो।

अनुसन्धानको क्रममा घटनामा दराई संलग्न रहेको पुष्टि भएपछि, उनको विरुद्ध २०८२ वैशाख १५ गते जिल्ला अदालत लमजुङले पक्राउ पुर्जी जारी गरेको थियो।

जेलमा परिचय, लिभिङ टुगेदर र विवाद

ब्युरोका अनुसार दराई पहिले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भुक्तान गरेर छुटेका व्यक्ति हुन्। उनी २०६७ मंसिर १३ गते गोरखा, फिनाम–५ की ५३ वर्षीया चिनिमाया पाण्डेको हत्या आरोपमा पक्राउ परेका थिए। छोरीसँग विवाह विवाद भएपछि दराईले चिनिमायाको हत्या गरेको आरोपमा २०६८ असार २० मा जिल्ला अदालत गोरखाले जन्मकैद सजाय सुनाएको थियो।

कैद भुक्तानकै क्रममा भीमफेदी कारागारमा दराई र कँडेलबीच परिचय भएको थियो। कँडेल त्यतिबेला त्यही कारागारमा प्रहरीका रूपमा ड्युटी गर्थिन्। त्यसै क्रममा उनीहरू नजिकिए।

दराई २०७८ सालमा छुटेपछि, अविवाहित कँडेलसँगै लिभिङ टुगेदरमा बस्न थाले। दुवैले मदिरा सेवन गर्ने गरेको र त्यसै बीच उत्पन्न विवादकै क्रममा कँडेलको हत्या भएको अनुसन्धानमा खुलेको ब्युरोका एक अधिकृतले बताए।

घटनापछि दराई घरमा ताला लगाएर फरार बनेका थिए। छिमेकीले दुर्गन्ध आउन थालेपछि प्रहरीलाई जानकारी दिएपछि कँडेलको शव फेला परेको थियो।

दराईलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको ब्युरो प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय